बारा : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका– २९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएकाे छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् ।
२५ वर्षीया सृष्टि जगदीश प्रसाद यादव र सुमित्रा देवी यादवको पहिलो सन्तान हुन् । उनी यस परिवारको जेठी छोरी हुन् । जगदीश र सुमित्राको सृष्टि सहित २२ वर्षीया अर्चना र १८ वर्षीय अनुराग गरि तीन सन्तान हुन् । अर्चना जनकपुरमा बसेर लोकसेवाको तयारी गर्दै छिन भने अनुराग काठमाडाैंमा बसेर पढाई गर्दै छन् । भाई र बहिनीको पठाईको सबै खर्च सृष्टि र उनका बुवा जगदीशको कमाईले धानेको थियो ।
सृष्टिका बुवा जगदीश बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको न्यु फोड्ली एग्रो बिजनेस प्रालिमा बजार व्यवस्थापकको रुपमा कार्यरत छन् । तीन वर्ष अगाडि एसइई परीक्षा दिएकी सृष्टिले रेडियोग्राफीको दुई वर्ष तालिम पछि उनी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा २०७९ साल चैतबाट करारमा कार्यरत थिइन् ।
सृष्टिको जापान जाने सपना त्रिशूलीले बगायाे
करीव डेढ बर्ष पर्साको सखुवा प्रसौनीमा कार्यरत उनी आफुले सिकेको सिप र ज्ञानले नेपाल भन्दा जापानमा राम्रो कमाई हुने र परिवारको जिवन सुधार गर्न सहयोग हुने विश्वासका साथ सृष्टिले जापानमा जाने योजना बनाइन् ।
सृष्टिले परिवारसंग सरसल्लाह गरेर नै जापानको सैनिक अस्पतालमा आवेदन दिएकी थिइन् । त्यहीँ सैनिक अस्पतालमा जान परीक्षा दिनका लागि उनी वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३००६ ख १५१६ नम्बरकाे बसमा सवार थिइन् । तर, उनको बस गन्तव्यमा पुग्नै पाएन । जापान पुग्ने उनको सपनासंगै उनलाई भरतपुर महानगरपालिका–२९ को सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बेपत्ता पार्यो ।
जापान जानका लागि शनिबार काठमाडाैंमा परीक्षा भएकाले उनी शुक्रबार राती वीरगन्जबाट काठमाडौंतर्फ लागिन । रातको १० बजेर १० मिनेटमा सृष्टिले आफ्नो बुवा जगदीशलाई बसबाटै फोन गरेर आफु जापान जानका निम्ती परीक्षा दिन काठमाडाैं जाँदै गरेको सुनाईन् । उनका बुवाले बाटो खराव भएकाेले हावाईजहाजबाट गएको भए हुने बताएका थिए ।
छोरी दुर्घटनामा परेको खबरले परिवार मर्माहत
काठमाडौं जान भनेर हिंडेकी छोरी दुर्घटनामा परेको खबरले यादव परिवार मर्माहत भएको छ । ‘मेरो विवाह २०४१ सालमा भएकाे हाे । पहिले सन्तान जन्माउन हामीलाई करिव १० बर्ष लाग्यो । मेरो परिवारमा खुशी दिने छोरीको दुर्घटनाको खबरले निकै दु:खी र मर्माहत भएकाे छु,’ जगदीशले भने, ‘छोरीले काठमाडौं जानु भन्दा अगाडि खबर गरेको भए मैले बसबाट जान दिने थिइन । तर, उनले मलाई बसबाट राति खबर गरिन्, घर फर्क भन्न सकिन । आज यस्तो खबर आयो ।’
जेठि छोरीलाई जापान पठाएर परिवारको खुशी र प्रगतीको सपना बुनेका यादव परिवारको खुशी नै त्रिशूली नदीले बगाएकाे छ। जगदीशको परिवार छोरीको अवस्था बुझ्न शुक्रबार बिहानै घटनास्थलतर्फ गएका छन् । नयाँ पत्रीकाबाट