
लालबन्दी : चिकित्सकमाथि हातपात भएको भन्दै लालबन्दी नगरपालिकास्थित नवलपुरमा नेपाल चिकित्सक संघ मधेश प्रदेश शाखाले आन्दोलन गरेको छ।
आज सोमबार संघको नेतृत्वमा लालबन्दी र हरिवन गरपालिकाका सबै स्वास्थ्य संस्था बन्द गरेर संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाएको छ।
असार २० गते दिउँसो ४ बजेतिर लालबन्दी नगरपालिकास्थित नवलपुर चोकमा रहेको मनीषा हेल्थ केयरका चिकित्सकमाथि कुटपिट भएको थियो।
जबर्जस्ती उपचार गराएर र बढी बिल उठाएको भन्दै लालबन्दी नगरपालिका कार्यालयबाट गएको कर्मचारीलगायत टोलीले अस्पतालका डाक्टर मुकेश कुमार साहमाथि कुटपिट गरेका थिए।
डाक्टर साहमाथि कुटपिट भएको भन्दै चिकित्सक संघ जनकपुर शाखाले आफूहरूको ज्ञापन पत्र र किटानी जाहेरी दिँदासमेत दोषीमाथि कारबाही नभएको भन्दै विरोध प्रदर्शनमा उत्रिएको हो।
दोषीमाथि कारबाही नभए संघले भोलि साउन १ गते जिल्लाभरका सबै स्वास्थ्य संस्था बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। र त्यसको भोलिपल्ट मधेश प्रदेशअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरेर जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गर्ने जनाएको छ।
यो पनि पढ्नुहोस्
लालबन्दी नगरपालिकाका कर्मचारी मिलेर नवलपुरमा कुटे डाक्टर (भिडियोसहित)