बारा : पहिरोमा बेपत्ता भएकी सृष्टि केसी नभेटिएपछि कुशको शव बनाएर परिवारले उनको अन्त्येष्टि गरेका छन्।
गत शुक्रबार बिहान चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले त्रिशुलीमा बस खस्दा बाराको कलैया उपमहानगरपालिका १४ की सृष्टि यादव पनि बेपत्ता भएकी थिइन्।
त्रिशूलीमा बस खसेको ८ दिन बितिसक्दा पनि अत्तोपत्तो नभएपछि उनको परिवारले हिन्दु संस्कृतिअनुसार अन्तिम संस्कार गरेका हुन्।
उनका परिवारले सृष्टिलाई सदाका लागि शुक्रबार बिदाइ गरेका छन्।
त्रिशूलीमा बेपत्ता सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित स्वास्थ्य चौकीमा रेडियोग्राफर थिइन्। उनी लोकसेवाको परीक्षा दिन काठमाडौं जाँदे गर्दा दुर्घटनामा परेकी थिइन्।
सृष्टि सवार बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा खसेका थिए ।
असार २८ गते बिहान ३ बजेको समयमा सिमतालमा पहिरोसँगै त्रिशुलीमा खसेका बसको अझै अत्तोपत्तो छैन। तर ती बसमा सवार २४ यात्रुको शव नारायणी नदीमा भेटिएको छ।