लालबन्दी : लालबन्दी नगरपालिकाका वडा नम्बर ८ का युवा व्यवसायी सुवास बानियाँलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ।
गएको असार ३० गते साँझ साढे ५ बजे मोटरसाइकल पुर्याउन भनी घरबाट निस्केका बानियाँ हिजो शुक्रबार राति अचेत अवस्थामा घर आइपुगेका थिए।
घरबाट एकाएक बेपत्ता भएका उनलाई नवलपुरमा एक गाडीले छाडिदिएको र हिँड्दै घरसम्म आएका उनका बुवा लीला बानियाँले सर्लाही न्युजसँग बताए।
‘बिहान आइपुग्यो, घरसम्म एक्लै आएको थियो, राति १० बजेर ४० मिनेटमा घरमा आएर सुतेको रहेछ,’ बुवा बानियाँले भने।
घर आएको थाहा पाएपछि परिवारले सुवासलाई बर्दिबासमा रहेको अस्पताल लगेका थिए। त्यहाँ उपचार गरेपछि होसमा आएका सुवासले आफू बेपत्ता भएको र जेनतेन घरमा आइपुगेको बताएका थिए।
बुवा लीलाका अनुसार सुवासको घाँटीमा सुई लगाएको नीलो डाम देखिएको छ।
घर आउँदा सुवासले हातमा एउटा नयाँ चप्पल र झोला बोकेका उनका बुवाले बताए। ‘घरबाट रित्तै हिँडेको थियो, नयाँ चप्पल र झोला कहाँबाट आयो ? उसले केही भनेको छैन। वडाको सिसीटीभीले यस्तै देखाएको छ,’ उनका बुवाले भने। उनका अनुसार सुवास अहिले राम्रोसँग बोल्ने अवस्थामा छैनन्। ‘टोलाइरहेको छ, अब थप उपचारका लागि हामीले काठमाडौँ लैजाने तयारी गरेका छौँ,’ बुवाले भने।
बर्दिबासमा उपचार गराएपछि त्यहाँका डाक्टरले थप उपचारका लागि न्युरो अस्पताल लैजान सल्लाह दिएपछि आफूहरू सुवासलाई लिएर काठमाडौँ जाँदै गरेको उनले बताए। डाक्टरका अनुसार औषधिको डोज बढी भएकाले उनको अवस्थामा खासै राम्रो सुधार हुन सकेको छैन।
सुवासले लालबन्दीमा मोबाइल पसल सञ्चालन गर्दै आएका छन्। यसबारे प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको जनाएको छ।