सर्लाही : पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्याबारे अनुसन्धानका क्रममा प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरेको जनाएको छ।
हत्यामा संलग्न आशंकामा उनीहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पूर्वराज्यमन्त्री राय साउन ७ मा आफ्नै घरमा मृत भेटिएका थिए। रतनपुरमा रहेको आफ्नै फार्म हाउसको घरमा उनको हत्या भएको थियो।
सहयोगीको रूपमा कार्यरत २१ वर्षीय रामउदेन रायलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ। उनको बोलीको पोलिग्राफ गराइएको प्रहरीले जनाएको छ।
मधेश प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले सहयोगीलाई पोलिग्राफ गराउन लागिएको बताए। उनले भने, ‘उनको भनाइको सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गर्दै छौँ।’
सहयोगीले राति घरमा ३ जना मानिसहरू आएको बताएका छन्। प्रहरीसँगको बयानमा युवकले भनेका छन्, ‘साढे ९ बजेतिर ३ जना आएका थिए, यहीँ बस्ने भनेपछि उहाँ (पूर्व राज्यमन्त्री)को आग्रह अनुसार मैले ओछ्यान मिलाइदिएँ।’
राति बास बस्न आएका भनिएका ३ जना मानिसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, प्रहरीले अहिलेसम्म उनीहरूको पहिचान गर्न सकेको छैन।
यो पनि पढ्नुहोस्
पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद