चितवन : भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरासहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन्। नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशुलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरु भएको १६ दिन बितिसकेको छ।
नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोलीले आजबाट फर्किएको छ।
खोज तथा उद्धारका क्रममा आफूहरूले पाएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने गरी टोली फिर्ता भएको हो।
प्रमुख जिल्ला अधिकारी यादवले साउन ४ गतेपछि हालसम्म शव र बसका अवशेषसमेत फेला पर्न नसकेको बताए। त्यसअघि विभिन्न ठाउँमा गरी २४ जनाको शव भेटिएको भए पनि अन्यको शव भेटिन नसकेको उनले जानकारी दिए।
भारतीय गोताखोरसहितको टोलीले घटनास्थल सिमलतालदेखि गाईघाटसम्मको तीन दशमलव पाँच किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको प्रजिअ यादवले बताए।
उनले भने, ‘बस नै हो भन्ने यकिन नभए पनि केही वस्तु छ भन्ने अनुमान उहाँहरूको छ। त्यहीअनुसार खोजी कार्य जारी राखेका छौँ। भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राखेको छ। नदीको गहिराइ, पानीको बहावअनुसार उपकरण अभावका कारण खोजीमा कठिन भएको छ।’
प्रजिअ यादवले माटोमा पुरिएको अवस्थामा अहिले प्रयोग भएको सोनाल क्यामेरालगायतका अन्य उपकरणले सवारी साधन र शवको पहिचान गर्न कठिन हुने बताए। भारतीय टोलीले ल्याएको उपकरणबाट पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने भए पनि नदीको गहिराइका कारण केही पत्ता लाग्न नसकेको उनको भनाइ छ।
यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरासँगै त्रिशुली नदीमा यात्रुसहित बेपत्ता भएका थिए।
बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। हालसम्म २४ जनाको शव भेटिएकामा तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ। अन्य ६ शवको पहिचान खुल्न सकेको छैन। अझै ३८ यात्रु र बसको अवस्था पत्ता लाग्न बाँकी छ।