‘एमाले र कांग्रेसका शीर्ष नेताहरूलाई कारबाही नगरेसम्म मुलुक बन्दैन’

काठमाडौँ : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको बताएका छन्।

यी दुई दलको सिन्डिकेट तोड्न अब आइटी आर्मी आउने पनि उनले बताए। आजपा निकटको आइटी आर्मीको काठमाडौँ उपत्यका भेलाको तयारी बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउन आइटी आर्मी फ्रन्टलाइनमा आउनुपर्ने आवश्यक रहेको बताए।

दलीय सिन्डिकेट तोड्न तेस्रो जनआन्दोलन आवश्यक रहेको कुरासमेत उनले जिकिर गरेका छन्। ‘एक त देशमा लोकतन्त्र नै छैन। लोकतन्त्र देखाउने दाँत मात्रै छ। दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेटले अब लोकतन्त्रसँगै दलतन्त्रसमेत खतरामा परेको छ।

यसले मुलुकमा थप सङ्कटको संकेत गरेको छ’, आजपा अध्यक्ष साहले भने, ‘लोकतन्त्र रक्षाका लागि अहिले आइटी आर्मीको महत्त्वपूर्ण भूमिका आवश्यकता परेको छ। यस्तो अवस्थामा आईटी आर्मी फ्रन्टलाइनमा आएर प्रतिकार गर्नुपर्छ। जस्तालाई त्यस्तै जवाफ दिनुपर्छ।’ लोकतन्त्र बचाउन कांग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए।

आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागी भएका कांग्रेस र एमालेले जनतासँग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरू आफ्नै प्रतिबद्धताविपरीत सत्ता स्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए।

अहिलेको लुटकारी व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नका लागि आइटी आर्मी लाग्नुपर्ने बताए। कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुट्ने काममा लागेको आरोप उनले लगाए।

विभिन्न ठूला भ्रष्टाचारका काण्डमा कांग्रेस र एमालेकै शीर्ष नेताहरूको संलग्नता रहेको बताउँदै त्यस्तालाई कारबाही नगरिएसम्म मुलुक नबन्ने उनले बताए।

भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, प्रशासन सहितका निकाय उही भ्रष्टाचारीहरूले नियुक्त गर्ने  कारिन्दा भएको बताउँदै त्यस्ताले भ्रष्टाचारीलाई कारबाही नगरेकाले अब आम जनताले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्ने बताए।

सम्बन्धित समाचार

सबै