मलंगवामा बोलबम तीर्थयात्री चढेको ट्याक्टर नहरमा खस्यो

हरिवनः बोलबम तीर्थयात्री सवार ट्याक्टर नहरमा खस्दा ५ जना घाइते भएका छन्।

भारतको मढियाबाट चक्रघट्टा गाउँपालिका-५, औरहीतर्फ आउँदै गरेको ज२त ३२७ नम्बरको ट्याक्टर आइतबार बिहान ११ बजे मलंगवा नगरपालिका-१२ गम्हरिया छेउको नहरमा खसेको हो।

शनिबार राति बागमती नदीबाट उठाएको जल भारतको मढिया मन्दिरमा चढाएर घर फर्किँदै गरेका भक्तजन चढेको ट्याक्टर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मलंगवाले दिएको विवरणअनुसार दुर्घटनामा चक्रघट्टा-५ निवासी २६ वर्षीया शान्ति देवी, उनकी छोरी ९ वर्षीया सुस्मिता कुमारी, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी छोरी ११ वर्षीया अंशु कुमारी घाइते भएका छन्।

पतही देवीलाई थप उपचारका लागि वीरगन्जतर्फ पठाइएको छ भने ४ जनाको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर चालक चक्रघट्टा-८ निवासी ३० वर्षीय रामबालक राय दुर्घटनालगत्तै फरार भएका छन्।

२५ जना तीर्थयात्री सवार उनीहरूलाई सुरक्षाकर्मी र स्थानीय मिलेर उद्धार गरेका थिए।

सम्बन्धित समाचार

सबै