
काठमाडौँ : सर्लाहीका चर्चित हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यस वर्षको गाईजात्रामा नयाँ कोसेली ‘ठगठाग कम्पनी’ लिएर आएका छन्। यसमा उनकै लेखन, निर्माण तथा निर्देशन रहेको छ।
गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै आफ्नो बाइसौँ गाईजात्रे कोसेली तयार गरेको हाँस्यकलाकार रिजालले बताए।
‘विशुद्ध मनोरञ्जन दिने र विकृति विसङ्गतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले मैले कलाकारिता सुरू गरेदेखि नै हरेक वर्ष गाईजात्राको अवसरमा कोसेली ल्याउने गरेको छु। भूकम्प र कोरोना महामारीका वर्षमा भने निरन्तरता दिन सकिएन। राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने गरेको छुँ’, उनले भने।
क्यासेट, भिसिडी, सिडी हुँदै अहिले प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै ‘ठगाठग कम्पनी’ इन्टरनेट (युट्युब) मा सार्वजनिक गरिएको हाँस्यकलाकार रिजालले जानकारी दिए।
यसमा उनीसँगै राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, शिला उप्रेती, सोनम शेर्पा, वीजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, प्रेम शर्मा पौडेललगायत कलाकारले अभिनय गरेका छन्।
रिजालकानुसार यस प्रस्तुतिमा प्यारोडी गीत समावेश गरिएको छ। यस वर्ष आगामी भदौ ४ गते गाईजात्रा पर्व परेको छ।