
जनकपुरधामः जम्बो मन्त्रिमण्डल बनाएको भन्दै जसपा नेपालले गरेको विरोध प्रदर्शनमा लाठीचार्ज भएको छ।
जनकपुरमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको हो। जसपा नेपाल निकट विद्यार्थीहरूले सोमबार सिटी जुलुस निकालेका थिए।
सिटी जुलुसमा सहभागी विद्यार्थीहरूले प्रहरी सुरक्षा घेरा तोड्दै जुलुस प्रदर्शन गर्न खोजेपछि विवाद भएको थियो।
जनकपुरको भानु चोकबाट निकालिएको सिटी जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयको मूल गेटसम्म पुगेको थियो। मिल्स एरियामा प्रहरीले लगाएको सुरक्षा घेरा तोड्दा घम्साघम्सी भएको हो।
जनमत नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै विद्यार्थीहरूको जुलुस सुरक्षा घेरा तोडेका हुन्। मधेश सरकार संघीयताविरोधी गतिविधिमा लागेको भन्दै सो सङ्गठनले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
प्रदेश सरकारले एक साता अगाडि ८ राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रिमण्डल विस्तार गरेको थियो।
जम्बो मन्त्रिमण्डल बनाएका मुख्यमन्त्री सतिश सिंहको कार्यप्रति मधेश प्रदेशमा चौतर्फी आलोचना भइरहेको छ।