
बर्दिबास : महोत्तरीमा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी रायको मृत्यु भएको हो।
दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा मिलेर हत्या भएको माइती पक्षले दाबी गरेका छन्।
अचानक बिरामी परेर रिनाको मृत्यु भएको प्रहरी र माइत पक्षलाई रिनाको घरले जानकारी दिएको थियो । रिनाको घरमा प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।
डिएसपी जयसवारका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारका लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन् ।
यता माइत पक्षले आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ । रिना मंगलबार मात्रै माइतबाट घर फर्किएकी थिइन् ।
रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोस्टमार्टम पश्चात मात्र के कारणले मृत्यु भएको खुल्ने डिएसपी जयसवारको भनाइ छ । घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन ।
धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्परा अनुसार रोहनसँग भएको थियो ।