चितवनः रौतहटको गौरबाट पोखरा जाँदै गरेको यात्रुबहाक बसमा ढुंगा खस्दा बस पल्टिएको छ भने त्यसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन्।
दुर्घटना चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा भएको हो।
ग२ख ४७ नम्बरको बस शुक्रबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।
घाइते हुनेहरूमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी, रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह, चितवन भरतपुर महानगर-२९ बस्ने २७ वर्षीया पूजा न्यौपाने, भरतपुर-२९ कै ४८ वर्षीया मनरूपा न्यौपाने र कास्कीको पोखरा महानगर-१७ का ४० वर्षीया सावित्री थापा मगर रहेका छन् । उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै रौतहट कटहरिया-१ का २५ वर्षीय सिनोज दास, रौतहट मंगलपुर-८ का २० वर्षीय लालबाबु दास, रौतहटकै वृन्दावन-६का २२ वर्षीय विक्रम दास, बसका सहचालक बारा निजगढ-५ का ४३ वर्षीय अर्जुन चौलागाई, रौतहट गरूडा-४का २० वर्षीय पवन साह र गरूडा-७ बस्ने १५ वर्षीय अनोस साह, बाराको जितपुर सिमरा-१ का २४ वर्षीया उन्नति उपाध्याय र उनका श्रीमान् अनदीप धिमाल रहेका छन् ।
उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ।