
जनकपुरधामः कमला नदीमाथि नयाँ पुल बनाउनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका युवाहरूसँग मधेश प्रदेश सरकारले चारबुँदे सम्झौता गरेको छ। सम्झौतापछि मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरूलाई जुस खुवाएर अनशन तोडाएका हुन्।
मधेश सरकार नयाँ कमला पुल निर्माण गर्न तयार भएपछि युवाहरूले अनशन तोडेका हुन्।
सम्झौतामा कमला पुलका लागि आर्थिक २०८२/०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारकै स्रोतबाट बेहोर्ने, २०८१ मंसिर १ गतेभित्र नयाँ पुलको डिपीआर तयारीका लागि बोलपत्र आह्वान गरिने उल्लेख छ।
त्यस्तै, नयाँ पुल निर्माण संघर्ष समिति सिरहा-धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम पनि स्थगित गर्ने सम्झौता भएको छ। कमला नदीमाथि नयाँ पुल बनाउनुपर्ने माग गर्दै युवाहरू भदौ ४ गतेदेखि आमरण अनशनमा बसेका थिए।
पुरानो पुल भासिएको हुँदा सिराहाबाट मधेश राजधानी जनकपुर आवतजावत गर्न निकै सास्ती कठिनाइ हुने गरेको स्थानीय बताउँछन्। सिरहा निवासी मनोज मोरबैटाका अनुसार पुल नहुँदा जनकपुर पुग्न महेन्द्र राजमार्गको बाटो वा भारतको बाटो भएर जानुपर्छ।
उनले भने, ‘खासगरी पानी पर्दा अझ बढी समस्या हुने गर्छ, पुल नहुँदा सिराहाबाट जनकपुर पुग्न करिब ५ घण्टा सास्ती खेप्नु पर्छ। जबकि पुल बन्यो भने करिब ४५ मिनेटमै जनकपुर पुग्न सकिन्छ। त्यसले गर्दा सिरहाबासीलाई एकदम सास्ती भइरहेको थियो।’ तर यो सहमतिपछि सबैको मनमा खुसीयाली छाएको उनको भनाइ छ।
मधेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका प्रवक्ता एवम् सप्तरी निवासी शरदसिंह यादवले पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री सिंहले गरेको सहमति स्वागतयोग्य रहेको बताएका छन्।