सर्लाहीमा विद्यालयको बस दुर्घटना, तीन जना विद्यार्थी सामान्य घाइते

लालबन्दी : सर्लाहीको पर्सामा स्कुल बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। शुक्रबार साँझ ६ बजेतिर पर्सा गाउँपालिका वडा नम्बर ४ स्थित भित्रि सडखण्डमा स्थानीय मनकामना बोर्डिङ स्कुलको मप्र ०३-००१ क २६१९ नम्बरको बस दुर्घटना भएको हो।

कविलासी नगरपालिकाबाट नारायणपुरतर्फ विद्यार्थी लिएर जाँदै गरेको बस दाहिनेपट्टि कुलोमा भासिँदा बसमा सवार विद्यार्थी घाइते हुन पुगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उक्त दुर्घटनामा बसका चालकसहित ३ जना विद्यार्थी घाइते भएका छन्। घाइते हुनेहरूमा ईश्वरपुर नगरपालिका-१४ का २१ वर्षीय चालक नवलकुमार महतो, पर्सा-३ का रुपेश साहका ९ वर्षीया छोरा आदित्य कुमार साह, सोही ठाउँका दिलिप साहका ५ वर्षीय छोरा दक्ष साह र सोही ठाउँका तौकिर अन्सारीका ६ वर्षीय छोरा कौनेन अन्सारी रहेका प्रहरीलले जनाएको छ।

दुर्घटनामा परेको बसको कागजी अवस्था ठीक रहेको र नारायणपुरबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट बस ल्याउने पहल गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै