
हेटौँडा : मकवानपुरको भीमफेदीमा मोटरसाइकल भीरबाट खस्दा त्यसमा सवार चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-१५ लक्ष्मुनुवा घर भएका अन्दाजी ४० वर्षीय वृतनारायण यादव रहेका मकवानपुर प्रहरीले जनाएको छ।
सोमबार अपराह्न भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेत ११, घुम्तीमा मोटरसाइकल भीरबाट पाँच सय मिटर तल खस्दा मोटरसइकलका चालक यादवसहित बाराको फेटा गाउँपालिका-७ का ३६ वर्षीय रमेश पाण्डे घाइते भएका थिए।
गम्भीर घाइते मोटरसाइकलचालक यादवको उपचारका क्रममा सोमबार साँझ हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पाण्डेको हेटौँडा अस्पतालमै उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरी प्रवक्ता भण्डारीका अनुसार काठमाडौंबाट हेटौँडा आउँदै गरेको प्रदेश २–०३–०११ प ३४७४ नम्बरको मोटरसाइकल भीरबाट खसेको थियो।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदीको टोली त्यसतर्फ पुगेर उद्धार गरेको थयो। मोटरसाइकलमा सवार पाण्डे रुखमा अडकिएका थिए।