काठमाडौँ : अमेरिकी ‘इलेक्ट्रोनिक डाइभर्सिटी भिसा’ (इडिभी) प्रयोजनका लागि अमेरिका जान नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र बनाउने चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एक जना सर्लाहीको लालबन्दी घर भई ललितपुरको टीकाथली बस्ने २८ वर्षीय अनिलकुमार साह रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्ने अन्य ललितपुरको इमाडोलका ३२ वर्षीया गोमा पाण्डे, झापा अर्जुनधारा घर भई ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपाल घिमिरे र संखुवासभाको खाँदबारी घर भई हाल भक्तपुरको मध्यपुर थिमि बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन्। उनीहरूलाई प्रहरीले महाराजगन्जबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीले आरोपितहरूको साथबाट नक्कली प्रमाणपत्र पनि बरामद गरेको छ। अपराध अनुसन्धान कार्यालयका अनुसार नेपालस्थित अमेरिकी दूताबासमा इडिभी प्रयोजनका लागि एसइई र प्लस टुका नक्कली मार्कसिट र ट्रान्स्क्रिप्ट पेस गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भेटिएपछि दूतावासले प्रहरीलाई जानकारी गराएको थियो। प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध लिखत किर्तेसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।