
वीरगञ्जः ट्यांकर चालकको लापरबाहीले मोटरसाइकल चालकको मृत्यु भएको भन्दै पर्साका स्थानीयले आज (शुक्रबार) बिहानैदेखि एकीकृत भन्सार जाँच चौकी (आइसीपी) एरियामा प्रदर्शन गरेका छन्।
प्रहरीका अनुसार स्थानीयले बिहान ६ बजेदेखि ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका हुन्। दोषी ट्यांकर चालकलाई कारबाहीको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रेका हुन्।
पर्साको सुक्खा बन्दरगाह नजिकै हिजो बिहीबार ट्यांकरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका-१७ का २२ वर्षीय किनु कुमार साहको उपचार क्रममा बाराको नौतनस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।
साहको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका हुन्। मोटरसाइकल चालक साहको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ।
प्रहरीका अनुसार मृतकका आफन्त र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भइरहेको छ।