हरिवनका मेयर र उपमेयरको गाडीको साँचो वडाध्यक्षहरूले खोसे

हरिवन : सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख र उपप्रमुख चढ्ने गाडीको साँचो वडाध्यक्षहरूले नियन्त्रणमा लिएका छन् ।

गएको असारमै नगरसभाबाट पारित हुनुपर्ने बजेट नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि पारित हुन नसकेको भन्दै ११ ओटै वडाध्यक्षहरूले नगरप्रमुख रमेश बुढाथोकी र उपप्रमुख हरिमाया घलान चढ्ने गाडीको साँचो खोसेका हुन्।

नगरप्रमुखले चढ्ने हरिवन नगरपालिका कार्यालयको प्रदेश–२–०३–००१ झ ००२० नम्बरको स्करपियो र उपप्रमुखले चढ्ने ना १ झ १५७१ नम्वरको टाटासुमोको साँचो नियन्त्रणमा लिएर प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालाई बुझाइएको हरिवन नगरपालिका–८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले सर्लाही न्युजलाई बताए।

वडाध्यक्ष र कार्यपालिका सदस्यले एक साताअघि बजेट जसरी पनि पारित गराउन मेयर बुढाथोकीलाई ज्ञापनपत्र बुझाएका थिए ।

आफूहरूको माग र नगरपालिकाको विकासलाई प्रमुख बुढाथोकी गम्भीर नभएका वडाध्यक्ष ढुंगानाले गुनासो गरे। मेयरसाबको यस्तो तरिकाले जनताहरू आफूहरूसँग रिसाएका पनि उनले बताए।

सम्बन्धित समाचार

सबै