जनकपुरधामः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिने बताएका छन्।
मधेशको गृहसञ्चार तथा कानुन मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलोपटक संविधान दिवसको अवसरमा औपचारिक रूपमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनीय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटि सच्याउन सकिने बताए।
अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको बताए। अहिले संविधानको विरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको उनले बताए।
मुख्यमन्त्री सिंहले भने, ‘प्रदेश सरकार समृद्ध भए संघियताप्रतिको विश्वास पनि विस्तारै बढ्दै जानेछ, संविधानभित्र रहेको त्रुटि संशोधनमार्फत सबैको संविधान बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। अहिले संविधानलाई पूर्ण बनाउन संशोधनको आवश्यकता छ, जुन दल संशोधन सुन्नसम्म चाहँदैन थियो तिनै दलहरु अहिले संशोधनका लागि तयार छन्, यसको फाइदा हामीले लिन सक्नुपर्छ।’
प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए।
लोसपाले संविधान दिवसको विरोध गर्दै आज कालो दिवस मनाइरहेको छ।