
लालबन्दी : बागमती नगरपालिका-१२ स्थित चेकपोस्टमा खटिएको प्रहरीले राजस्व छली गरी ल्याइएको ११ बोरा मोबाइल सेट नियन्त्रणमा लिन सफल भएको छ।
गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०३-०१ ख ३३८८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको पछाडिको डिक्कीमा लुकाइएको अवस्थामा सर्लाही प्रहरीले ११ बोरा अर्थात् ५५० थान मोबाइल सेट फेला परेको जानकारी दिएको छ।
ती कुनै पनि मोबाइल सेटको वैध भ्याट बिल नभएको र बसमा राखिएका मोबाइलहरूको मूल्य करिब ७३ लाख ८४ हजार ४०८ बराबर रहेको जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जनाएको छ।
प्रहरी टोलीले नियन्त्रणमा लिएका ती मोबाइलका बोराहरूलाई आवश्यक कानूनी प्रक्रियाका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।
बसका चालकलाई सोधपुछपछि छाडिए पनि प्रहरीले यो घटनालाई ठूलो राजस्व छलीको संज्ञा दिँदै यसबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।