काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जसका कारण देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।
आज राति भने मधेश प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।
महाशाखाको दैनिक बुलेटिनमा भनिएको छ- आज (सोमबार) राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी मंगलबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
केही दिनयता मधेश प्रदेशमा चर्को घाम लागेका कारण तापक्रममा उल्लेख्य वृद्धि भएको छ। आज सिमराको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियसभन्दा माथि थियो भने जनकपुरको तापक्रम ४० डिग्री सेल्सियस मापन भएको महाशाखाको दैनिक सूचनामा उल्लेख गरिएको छ।