‘एक्ला मेयर’लाई नगरसभामा बजेट पास गर्नै सकस!

सर्लाही : सर्लाहीको हरिवन नगरपालिकाले तीन महिना ढिलो गरेर बजेट ल्याएको छ। गएको असार १० गते नै नगरसभा गरेको हरिवनले हिजो (असोज ७ गते) बजेट ल्याएको हो।

बाँडफाँडमा सहमति नहुँदा बजेट पास गर्न समय लागेको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल)ले जानकारी दिए।

हरिवनमा मेयर र वडाध्यक्षहरुबीच बजेट बाँडफाँडमा प्रत्येक वर्ष विवाद हुँदै आएकाे छ।

हरिवनका ११ वटै वडाका वडाध्यक्षहरुले वडा कार्यालयमार्फत् खर्च हुने बजेट बढाउन मेयर बुढाथोकीलाई दवाव दिँदै आएका थिए। तीन महिना लामो रस्साकस्सीपछि उनीहरुले बजेट भागबण्डमा सहमति जुटाएका हुन्।

हरिवन नगरपालिकाका लेखा प्रमुख प्रतिक कार्कीकाअनुसार अब हरिवनका प्रत्येक वडामा पूँजिगत तर्फको ७० लाख र शहरी विकास तर्फको ४४ लाख गरेर एक करोड १४ लाख रुपैयाँ जाने छ।

‘मेयरले खर्च गर्ने गरी १ करोड ४० लाख र उपमेयरले खर्च गर्नेगरी १ करोड पाँच लाख रुपैयाँ विनियोजन भएको छ,’ कार्कीले भने, ‘हरिवन नगरपालिकाले चालु आर्थिक वर्षका लागि कूल ८० करोड ५९ लाख ३ हजार रुपैयाँ बजेट ल्याएको छ।’

त्यसैगरी स्वास्थ्यको ससर्ततर्फ ४ करोड ५२ लाख ४८ हजार र आन्तरिकतर्फ २ करोड ७२ लाख २५ हजार गरि जम्मा रू ७ करोड २४ लाख ७३ हजार रुपैयाँ विनियोजन भएको मेयर बुढाथोकीको सचिवालयले जनाएको छ।

हरिवन नगरपालिकाको नगरसभा र कार्यपालिकामा उपमेयरसहित एमालेको बहुमत छ। तर, मेयर बुढाथोकी भने माओवादी केन्द्रबाट विजयी भएका हुन्।

कार्यपालिकामा एक्लो भएकाले मेयर बुढाथोकीले प्रत्येक वर्ष बजेट ल्याउने बेलामा विपक्षी जनप्रतिनिधिहरुको दबाब झेल्दै आएका छन्। गत वर्ष पनि हरिवन नगरपालिकाले बजेट पास गर्न ढिलाइ गरेको थियो। पहिलाे वर्ष मात्रै हरिवनले समयमै बजेट ल्याएकाे थियाे।

हरिवन नगरपालिकाका ११ वटा वडामध्ये पाँचवटामा एमाले, चारवटामा कांग्रेस र दुईवटामा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष छन्।

नगर प्रमुख (मेयर) भने कुनै पनि वडामा एउटा सदस्य पनि नजितेको माओवादी केन्द्रका नेता रमेश बुढाथोकी छन्।

यही राजनीतिक जोडघटाउ र खिचातानीको कारण प्रत्येक वर्ष हरिवन नगरपालिकाले बजेट पास गर्न ढिलाइ गर्दै आएको छ।

समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा २ नम्बर घट्ने प्रावधान छ। बजेट पास हुन ढिलाइ हुँदा विकास निर्माणसँगै कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्तासमेत रोकिँदै आएको छ। नेपालखबरबाट

सम्बन्धित समाचार

सबै