मधेश प्रदेशः वर्तमान सरकार ढालेर आफ्नो बनाउने खेलमा कांग्रेस

देउवालाई मधेश प्रदेशका कांग्रेसी नेताहरूले बुझाए ध्यानाकर्षण पत्र

जनकपुरधामः मधेश प्रदेशको सत्ता परिवर्तनको खेलमा नेपाली कांग्रेस लागिपरेको छ।

मधेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले दबाब बढाउन थालेको छ। संघीय गठबन्धनको समय १०० दिन पूर भएपछि कांग्रेसले मधेस प्रदेश सरकार हत्याउन चलखेल गर्न थालेको हो।

जसअनुसार कांग्रेसका मधेश प्रदेशका नेताहरूले वीरगञ्ज पुगेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै प्रदेश सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन्।

वीरगञ्जस्थित होटल दियालोमा सभापति देउवासँग कांग्रेस मधेश प्रदेश कार्यसमितिले भेटवार्ता गरेको थियो। जहाँ मधेश प्रदेशका कांग्रेस सभापति कृष्ण यादवले देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको नेतृत्व लिनका लागि पहल गर्न माग गरेका हुन्।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाली कांग्रेसको सांगठनिक वा सरकार निर्माण सङ्ख्यात्मक भूमिकामा मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको यहाँलाई अवगतै छ, मुलुक सङ्घीयतामा प्रवेश पश्चात् यसको महत्त्व अझै वृद्धि हुँदै गएको छ। मुलुक सङ्घीयतामा प्रवेशपश्चात् संवैधानिक निर्वाचन प्रणालीका कारण गठबन्धनबाट मात्र सरकार निर्माण हुने अवस्था छ। संघीय सरकार र विभिन्न प्रदेशहरूको सरकारको नेतृत्व गर्ने अवसर सभापतिज्यूकै सबल नेतृत्वका कारण कांग्रेसले प्राप्त गरिरहेको अवगत नै छ।’

मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने विषय अहिलेसम्म प्राथमिकतामा नपरेका कारण कांग्रेसका मतदाताहरूमा निराशा बढ्दै गएको प्रदेश कार्य समितिको ठहर छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘यही ठहरलाई मध्यनजर गर्दै प्रदेश कार्यसमितिको असोज ७ गते बैठक बस्यो, जसमा सभापतिसमक्ष मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार निर्माणमा प्राथमिकताका साथ पहल र अवसरका लागि ध्यानाकर्षण गराउने भन्ने निर्णय भयो। जसअनुरूप यसतर्फ सिङ्गो पार्टी र सभापतिको गम्भीर ध्यानाकर्षणको लागि हार्दिक अनुरोध गरिन्छ।’

सम्बन्धित समाचार

सबै