सर्लाहीका एकसहित मधेश प्रदेशमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

फाइल फोटो

जनकपुरधाम : मधेश प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।

मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छन्। मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दुई तथा सप्तरी र सर्लाहीका एक/एक जना रहेका छन्।

बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठ जना घाइते भएका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए।

बेपत्ता हुनेमा सर्लाही र पर्साका एक/एक जना रहेका छन्। मधेशका आठ जिल्लामा बाढीबाट ५६ लाखको क्षति भएको छ।

बाढीबाट नौ पशुचौपाया समेत मरेका छन्।

मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दिबास नगरपालिका-११ का २१ वर्षीय मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई हाल राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया र परोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका–३ लक्ष्मीपुरका १२ वर्षीय अङ्कित ठाकुर रहेका छन्।

यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन्। पर्सामा एक बालिका बेपत्ता भएकी छिन्।

आठ जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीन जना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए।

बाढीबाट मधेशका ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन्। बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ।

सम्बन्धित समाचार

सबै