मधेश प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेस : धुनषाका सबैभन्दा धेरै उजुरी

सर्लाहीको सबैभन्दा कम

जनकपुरधामः अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले ३४औँ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेस गरेको छ।

कार्यालयका प्रमुख सहसचिव रामबहादुर कुरुवाङ्गले आज प्रदेश प्रमुख भण्डारीलाई प्रदेश प्रमुखको सचिवालय मधेस भवनमा पुगेर आयोगको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रदेश प्रमुख भण्डारीले प्रतिवेदन ग्रहण गर्दै सुशासनको अभावमा समृद्ध नेपाल तथा सुखी नेपालीको अभियान पूरा गर्न नसकिने भएकाले सुशासन र आर्थिक पारदर्शीता कायम गराउनमा अख्तियारको भूमिका महत्त्वपूर्ण भएको बताइन्।

अख्तियारको प्रतिवेदनमा प्रदेशबाट अनियमिततासम्बन्धी बढी उजुरी परेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सुवेदीले आर्थिक अनुशासन तथा पारदर्शी बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरिन्।

अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा मधेश प्रदेशका मात्र १० हजार उजुरी रहेको परेको उल्लेख गर्दै कुल उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसम्बन्धी भएको जानकारी दिए।

जिल्लागत रूपमा सबैभन्दा बढी उजुरी धनुषाको रहेको जनाइएको छ। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा धनुषा जिल्लाबाट मात्रै एक हजार एक सय वटा उजुरी परेका छन्।

साथै सबैभन्दा कम सर्लाहीबाट छ सय नौ वटा उजुरी परेको जनाइएको छ।

प्रदेशको आठ जिल्लाबाट उक्त आवमा छ हजार तीन सय २४ उजुरी दर्ता भएका छन्। नयाँ दर्ता र पुरानो उजुरी गरेर आठ हजार पाँच सय २९ रहेकामा छ हजार चार सय ७२ वटा फर्स्योट भएका कार्यालयको भनाइ छ।

सम्बन्धित समाचार

सबै