बाढीबाट बागमती सिँचाइ आयोजनामा झण्डै साढे १० करोडको क्षति

बागमती : यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मैयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्‍याएको हो ।

सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताए ।

बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूलनहर तथा सर्लाहीतर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवक्र्स तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए ।

रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा, भोलहिया शाखाअन्तर्गतको लौकहा प्रशाखा, जिगङरिया शाखाको नहर तथा बाँध रहेको क्षेत्र बाढीले क्षति पुर्‍याएको छ ।

यस्तै, सर्लाहीतर्फको पूर्वी मूल नहरको लक्ष्मीपुर शाखा, पूर्वी मूलनहरको गडैया शाखाको आरफोर सेक्सन तथा सडकमा क्षति पुर्‍याएको प्रमुख चौधरीले बताए ।

विसं २०३५ मा निर्माण सुरु भएको उक्त आयोजना २०५० सालमा सञ्चालनमा आएको हो ।

सम्बन्धित समाचार

सबै