अनुदानको रकम पाएपछि महोत्तरीका उखु किसान हर्षित

महोत्तरी : चाडपर्व शुरु हुनै लाग्दा अनुदानको रकम पाएपछि महोत्तरीका उखु किसान यतिबेला खुसी भएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा गौशाला-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन्।

उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरूले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल ७० रुपैयाँका दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। किसानलाई २० करोड ३३ लाख १५ हजार ८११ अनुदान दिइएको छ।

कार्यालयप्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खाता खोल्न थालेका छन्। ‘रकम दाखिलाको क्रम जारी छ,’ उनले भने।

‘दसैँमा कसरी गर्जो टारौँ भन्ने थियो, अनुदान रकम आएपछि प्रसन्न छु’, भङ्गाहा-४ का उखु किसान अरुण गिरी भन्छन्, ‘हामीलाई दसैँ उपहार पाएजस्तै भएको छ।’ गिरीजस्तै बर्दिबास-९ पशुपतिनगरका अर्का किसान रामविनोद महतोले पनि चाडपर्वअघि अनुदान रकम पाइँदा राहत मिलेको बताए।

महोत्तरीमा दुईवटा चिनी उद्योग सञ्चालनमा रहेका भए पनि दुई वर्षअघिमात्र सञ्चालनमा आएको सिद्धिविनायक चिनी उद्योगले गत वर्ष प्राविधिक गडबडीले उखु क्रसिङ गर्न सकेको थिए। एभरेष्ट चिनी उद्योगले भने २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ६४ हजार ५११ क्विन्टल चिनी उत्पादन गरेको थियो।

गत वर्ष उखुको मूल्य उद्योगले ५४० र सरकारले अनुदानबापत ७० गरी प्रतिक्विन्टल ६१० रुपैयाँ कायम गरेको थियो। किसानले प्रतिक्विन्टल ७५० रुपैयाँ माग गरेका थिए।

सरकारले पछिल्ला तीन वर्षयता उखुको अनुदान रकममा प्रति क्विण्टल ५ रुपैयाँ बढाएर ७० रुपैयाँ पुर्‍याएको हो।

समयमै उखुको भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएका यहाँका किसान उखुखेती विस्तार गर्ने योजनामा रहेका उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।

हाल यहाँ १० हजार बिघामा उखुखेती भएको छ।

सम्बन्धित समाचार

सबै