
लालबन्दी : असोज १२ मा पहिरोले पुरिएर मृत्यु भएका सर्लाही लालबन्दी नगरपालिका-१७ आदित्य बलम्पाकीसहित ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिपरिवार ८ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
आइतबार बसेको एन्फाको आपतकालीन बैठकले उक्त रकम दिने निर्णय गरेको हो।
लगातारको वर्षापछि आएको पहिरोमा परी सिस्नेरीको बात्सल्यदेवी एकेडेमीमा अध्ययनरत बलम्पाखीसहित, विकल रेग्मी, प्रियान्स आचार्य, दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनलाई बगाउँदा उनीहरूको मृत्यु भएको थियो।
बैठकले प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने र एन्फाले सञ्चालन गर्ने विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
बैठकले उक्त घटनाबारे छानबिन गर्न एन्फा केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको जनाएको छ।
समितिमा केन्द्रीय सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई सदस्य छन्। उनीहरूलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ।