बीपी राजमार्गमा पहिरोले गाडी पुरियो, यात्रा नगर्न अनुरोध

लालबन्दी : वर्षाले ठाउँठाउँमा बाटो नै बगाएर अवरुद्ध बनेको बीपी राजमार्गमा सवारीसाधन सञ्चालनमा आएकै दिन सुक्खा पहिरो खसेर गाडी पुरिएको छ।

सवारीसाधन पुरिएपछि अहिले फेरि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको थियो।

काभ्रेको रोशी गाउँपालिका-११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पुरेको हो। यसैगरी सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ।

सुक्खा पहिरो झरीरहेकाले बाटो खुलाउन असहज भएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार झर्न रोकिए राजमार्ग सञ्चालनमा आउनेछ।

सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आज बिहानबाट आठ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

पहिरोले पुरेको सुमोमा भने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। सो सडकमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै