
वीरगञ्जः जनमत पार्टीका केही शीर्ष नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
जसपा नेपालले पर्सामा आयोजना गरेको कार्यक्रममार्फत जनमतका करिमा बेगमलगायत नेता जसपा नेपाल प्रवेश गरेका हुन्।
बेगमका साथै जनमत पार्टीका राजनीतिक समिति सदस्य शशि कपुर मियाँ, केन्द्रीय सदस्यहरू सब्बो खातुन, विजय यादव, सुधीरनाथ पाण्डे, प्रदेश समिति सदस्य शानि दिवेदी, राजकुमार ठाकुर, विजय राम जसपा नेपालमा प्रवेश गरेका हुन्।
त्यस्तै जनमत पार्टी निकट मुस्लिम संघका पर्सा जिल्ला अध्यक्ष औरन्जेब अन्सारी, जिल्ला उपाध्यक्ष परबेज अख्तर, प्रमोद यादव, जिल्ला समिति सदस्य मजिद देवान, जितेन्द्र चौरसिया, सायद अलि, जयकुमार मिश्रा, अजिम मियाँ हावारी, संजय साह, इमराना खातुन, रेयाज मियाँ, वीरगञ्ज महानगर उपाध्यक्ष संगिता तिवारी, महानगर सचिव राजेश यादव, पटेर्वा सुगौली गापा अध्यक्ष रेयाज अहमद लगायतका नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्।
को हुन् करिमा बेगम ?
कृषि तथा सहकारी राज्यमत्री हुँदा करिमा बेगमले २०६६ कात्तिक २४ गते पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी झापड हानेकी थिइन्। उक्त मुद्दामा जिल्ला अदालत पर्साले उनलाई दुई हजार रुपैयाँ जरिवाना गरेको थियो।
बेगमले काठमाडौंबाट वीरगञ्ज आउने क्रममा सिमरा विमानस्थलमा आफूलाई लिन पुरानो गाडी पठाएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी भण्डारीलाई उनकै कार्यकक्षमा पुगेर चड्कन हिर्काएकी थिइन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।
बेगम तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएकी थिइन्। र उनी राज्यमन्त्री बनेकी थिइन्। तर २०७९ सालमा भने पार्टीहरूको बीचमा गठबन्धन र चुनावी तालमेल भएपछि टिकट नपाउँदा उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन्।
२०७९ सालमा पर्सा क्षेत्र नम्बर २ को ‘ख’मा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्। उनी १५०१ मत ल्याएर पाँचौँ भएकी थिइन्।
२०८० जेठ २८ गते जनमत पार्टीका अध्यक्ष सिके राउतको प्रमुख आतिथ्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बेगमसहित नेताहरू जनमत पार्टीमा प्रवेश गरेका थिए।