लालबन्दी : मोटरसाइकलको सिटमुनि लुकाएर लैजाँदै गरेको अवस्थामा सर्लाहीको लालबन्दी प्रहरीले ५ केजी ३४० ग्राम लागुऔषध गाँजासहित दुई भारतीय नागरिकलाई आज सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढीका २० वर्षीय शंकर राम र सोही ठाउँका ३३ वर्षीय अशोक साह रहेका छन्।
इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलीले लालबन्दीबाट ईश्वपुरतर्फ जाँदै गरेको बीआर ३० टी ४०२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका वडा- ५ मेजरगन्जबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
गाँजासहित पक्राउ गरेका उनीहरूलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर सुजन पाठकले जानकारी दिए।