
उमेरले भर्खरै २४ पूरा गरेका अशोक ठाकुर हिजो (सोमबार) मा निकै खुसी देखिए। हिजै उनले लालबन्दी बजारमा नयाँ सैलुनको उद्घाटन गरेका छन्।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा-२ घर भएका अशोक ठाकुरले कपाल काट्ने मात्र होइन, पार्लर र नाइसम्बन्धी धेरै सीप जानिसकेका छन्। आफ्नो एकल लगानीमा उनले लालबन्दी बजारमा दुई वटा सर्टर भाडामा लिएर केही फरक र आधुनिक सैलुन खोलेका छन्।
विश्वमै प्रख्यात हेयर डिजाइनर नील डेबिट र हबिबसँग करिब डेढ वर्ष काम गर्न भ्याएका अशोकलाई सैलुन व्यवसायमै केही गरेर देखाउँछु भन्ने आँट र इच्छाशक्ति छ। जुन इच्चा अब उनले लालबन्दी बजारलाई कर्मथलो बनाएर पूरा गर्न लागिपरेका छन्।
एउटा सानो कार्यक्रम गरेर उनले नयाँ पसल खोलेका छन्। नाम राखेका छन्- ‘ठाकुर बार्बर हब’ । र त्यसमाथि लेखेका छन्- हेयर डिजाइनिङ इज नट अ जब, इट्स अ क्राफ्ट’ ।
केही समय विदेशमा बिताएर नेपाल फर्केका उनी सुरुमा त रोजगारीको सिलसिलामा दुबई गएका थिए। तर आफ्नै मान्छेले धोखा दिएपछि उनी नेपाल आउन बाध्य भए।
‘दुबईमा आफन्तले धोखा दियो, त्यहाँ मलाई एकदम फाइदा थियो। तर साथीले पासपोर्ट बेचिदियो। दुबई पुलिसमा रिपोर्ट गरेर इमर्जेन्सीमा नेपाल आएँ,’ अशोक भन्छन्, ‘त्यहाँ म नौ महिनाजति बसेँ होला। कमाइ राम्रो हुँदै थियो। मैले तेस्रो महिनाबाट १ लाख २० हजार कमाउन थालिसकेको थिएँ।
विदेश जानुअघि काठमाडौँमै काम गरेका उनले नील डेबिडसँग काम गर्ने मौका पाए। ‘त्यहाँ मेरो कस्टमर भनेको धुर्मुस (सीताराम कट्टेल) र रातामकै (किरण केसी) थियो, उनीहरू मेरो रेगुलर कस्टमर थियो।’
त्यहाँ केही समय काम गरेपछि पैसा र सीप दुवै देखेर बिदेसिएका अशोक विदेश बस्न सफल भएनन् अनि नेपाल नै फर्किए।
‘मेरो लालबन्दीमा पनि केही ठाउँमा काम गरेँ। मेरो फोकस लालबन्दीमा नयाँ खालको सैलुन खोल्ने थियो। यहाँ त्यस्तो सुविधासम्पन्न खालको सैलुनको अभाव देखेँ मैले। त्यसैले नयाँ तरिकाले सेवा दिन लालबन्दीमा सैलुन खोलेँ। अहिले २ जना छौँ। लेडिज पार्लर पनि चलाउने सुर गरेको छु।’
आफ्नै लगानीमा व्यवसाय सुरु गर्न तम्सिएका उनलाई एक्लैले सक्नुहुन्छ रु भन्ने प्रश्नमा, ‘एक्लैले सकिँदैन होला, काम गर्ने मान्छे पनि विस्तारै राख्दै जान्छु। अब माग भयो भने विस्तारै गर्दै जान्छु।’
‘भइसकेको असईको जागिर छाडेँ’
दुबई जानुभन्दा पहिला पनि काठमाडौँमा नाइ पेशामै रहेका अशोक उमेरले भर्खर २४ पूरा भए। कलिलै उमेरमा विदेश जाने र त्यहाँ गएर पनि सैलुनसम्बन्धी सीप र पैसा कमाउने लक्ष्य राखेका थिए। तर विदेश गए पनि उनी सफल भने भएनन्।
अशोकका बुवा नेपाल प्रहरीबाट सेवानिवृत्त नायब प्रहरी निरीक्षक अर्थात् सई हुन्। छोराले पनि आफूलेजस्तै प्रहरीमै जागिर खाइदियोस् भन्ने बुवाको सपना थियो। तर अशोक सैलुन व्यवसायतिर लागे। झन् काम नै नील डेबिडसँग गरिसकेका उनले यसमै भविष्य देखे।
यसैलाई जीवनभरको पेसा बनाउन लागिपरे। भन्छन्, ‘मैले भइसकेको असईको जागिर छाडेर भागेँ, २०, २१ वर्षको उमेरको थिएँ, जागिर भइसकेको थियो। तालिम बाँकी थियो। भागेर विदेश गएँ। मैले यही काम रुचाएँ।’
प्रहरीको जागिर नखाएपछि बुवाले उनलाई फेरि नेपाल आर्मीमा जान कर गरे। तर उनले त्यो पनि मानेनन्। भन्छन्, ‘मेरो मन नै थिएन त्यो गर्न, जहिल्यै केही गर्छु भने बिजनेस गर्छु।
‘बाहिर गएर आएँ, अलि अलि अनुभव पनि भयो। मलाई त नेपालमै केही हुन्छ जस्तो लाग्छ। मौका मिल्यो भने म जे पनि गर्न सक्छुजस्तो लाग्छ,’ अशोक निर्धक्क भन्छन्।
सुरुमा उनले सैलुनसम्बन्धी सीप सिक्न र आफूलाई क्षमतावान् बनाउन अरू देश जाने पनि प्रयास गरे। भन्छन्, ुसुरुमा त मैले कोरिया र अष्ट्रेलिया पनि जान खोजेको थिएँ तर सकिनँ।’ जापनिज भाषा पनि पढेको थिएँ।’
विदेश जान असफल भएपछि उनले नेपालमै आफ्नो व्यवसायलाई अघि बढाउने सपना बनाए अनि कर्मथलो लालबन्दी बजारलाई बनाए।
उनी दुबईबाट फर्किएको एक वर्ष भयो। यसअघि काठमाडौँमै काम गरिरहेका अशोक आफन्त र साथीहरू उहीँ छन्। तर उनले काठमाडौँ छाडे। ‘नील डेबिडले पनि मलाई एउटा अफर दिनुभएको थियो, तिमी राम्रो काम गर्छौ यहीँ गर भन्नुभएको थियो,’ अशोक भन्छन्, ‘५० लाख लगानी गरिदिन्छु पनि भन्नुभएको थियो, तर त्यति धेरै लगानीमा मैले आँट गर्न सकिनँ।’
लालबन्दी बजारमा सम्भावना धेरै देखेको उनको बुझाइ छ। जिल्लाका अरू ठाउँभन्दा यहाँ प्रोफेसनल मानिसहरू आफूले देखेरै लगानी गरेको उनी दाबी गर्छन्। ‘मैले यहाँ अहिलेसम्म साढे पाँच लाख लगानी गरेको छु, विस्तारै थप्दै जान्छु। नयाँ एसी पनि राख्नु छ, लगानी त गर्नैपरो नि,’ उनले हास्दै भने।
आफ्नो लागि यो लगानी ठूलो भएको र लालबन्दीमा चलिरहेको अन्य सैलुनको तुलनामा पनि यसलाई राम्रो लगानी मान्नुपर्ने उनी बताउँछन्।
लेडिज र जेन्स दुवै सेवा (युनिसेक्स) दिनेगरी सैलुन खोलेका उनी यो सुविधासहित लालबन्दीमा पहिलो सैलुन भएको दाबी गर्छन्। काठमाडौँमा भएका स्तरीय सैलुनजस्तै सुविधा आफूले दिन खोजेको उनी बताउँछन्।