विवाहपञ्चमी: यसरी गरिँदैछ जन्ती स्वागतको तयारी

जनकपुरधाम: मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाहपञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ।

विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्ती नेपाल प्रवेश गर्ने नाका महोत्तरीको मटिहानी र भिठ्ठामोर हुन्। अहिले जिल्लाका मटिहानी, जलेश्वर र पिपरामा जन्तीको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ।

यस वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बोलाउने श्रीरामको तिलकोत्सवको कार्यक्रम जनकपुरधामबाट गएको टोलीले भारतको अयोध्यामा सम्पन्न गरेको छ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोलीले गत सोमबार अयोध्यामा जन्ती आउने जानकी मन्दिरको निमन्त्रणापत्र अयोध्यास्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायलाई हस्तान्तरण गरिसकेको छ।

साथै मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले एक धार्मिक समारोहबीच सोही दिन श्रीरामको तिलकोत्सव पनि सम्पन्न गरेको छ। तिलकोत्सवमा दुलहीपक्षले दुलहालाई वस्त्रआभूषण, शृङ्गार प्रसाधन सामग्री र फलफूलसहित मिष्ठान्न परिकारका साथ पूजन (वरण) गर्ने मैथिल परम्परा छ।

यो पारम्परिक विधि सम्पन्न भएसँगै अब मिथिलामा औपचारिक रुपमा विवाहपञ्चमी महोत्सव सुरु भएको छ।

मैथिल परम्परामा मङ्सिर सघन रुपमा विवाहसम्बन्ध जोड्ने उपयुक्त महिना मानिन्छ । कैयन हासपरिहासका रमाइला विधिले सम्पन्न गरिने हिन्दू मैथिल परम्पराको विवाह आफैँमा उत्सव रहेको जानकारहरु बताउँछन्।

यसमा आराध्य देव श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको महिना मङ्सिर भएकाले मैथिलका लागि यो महिना पहिलेदेखि विशेष उत्सवको रुपमा रहँदै आएको छ।

सर्वसाधारण सरिक हुँदैछन् । सप्ताहव्यापी विवाह महोत्सवमा मटिहानी, जलेश्वर र पिपरा हुँदै अयोध्याबाट आएका जन्ती जनकपुर पुगेपछि ती जानकी मन्दिरका अतिथि हुन्छन्।

जनकपुर बसाइँको सबै प्रबन्ध जानकी मन्दिर व्यवस्थापनले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए। महोत्सवमा कुनै त्रुटि हुन नदिन सचेतता अपनाइने उनले उल्लेख गरे।

सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा सात दिनका फरक–फरक विधि हुन्छन्। गुरु विश्वामित्रसँग भाइ लक्ष्मणका साथ श्रीराम जनकपुर प्रवेश गरेको पहिलो दिनलाई जनकपुर नगर दर्शनका रुपमा उत्सव मनाइन्छ।

यसैगरी श्रीराम र जानकीको फुलबारीमा जम्काभेट भएको दिनलाई फूलबारीलीला, त्यसपछि धनुषयज्ञ, स्वयम्बर, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवाका विधि छन्।

मटकोर विवाहमण्डप बनाइएर विवाहअघि कूलदेवताको पूजा गरिने र अन्तिम दिनको रामकलेवा जन्तीलाई बिदाइ गरिने परम्परासँग जोडिएका विधि हुन्। यस महोत्सवमा जनकपुरस्थित श्रीराम मन्दिरका महन्थ दुलहाका पिता राजा दशरथको र जानकी मन्दिरका महन्थ राजा जनकको भूमिकामा हुन्छन्।

दुवै सम्धीबीच मैथिल परम्पराको हाँसख्याल ठट्टाले त्रेता युगकालीन श्रीराम जानकीको विवाहमा यस्तै रमाइलो भएको अनुमान गर्दै दर्शक दङ्गपर्ने गरेका साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए।

मिथिलाको यो विशिष्ट सांस्कृतिक महोत्सवमा बर्सेनि नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन सहभागी हुँदै आएका छन्। नेपाल र भारतबीच ‘रोटीबेटी’ को सम्बन्ध श्रीराम सीताको विवाहपछि बाक्लिएको त्यसयताका धार्मिक ग्रन्थबाट र पछिल्ला दिनमा भइरहेका सम्बन्धबाट उजागर भइरहेको मैथिल लोकसंस्कृतिका ज्ञाता जलेश्वर–५ का ध्रुव रायले बताए।

रासस

सम्बन्धित समाचार

सबै