लालबन्दी । सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा उनका बुवा गम्भीर घाइते भएका छन् ।
लालबन्दी नगरपालिका–४, हरिभवनस्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो करिब २:३० बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा स्थानीय सन्तोष भट्टराईकी ६ वर्षीया छोरी अन्सु भट्टराई रहेकी छिन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार मुसलधारे पानी परिरहेको समयमा हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टर (सेफ्टी ट्याङ्की जडान गरिएको) ले बाबु-छोरी सवार साइकललाई ठक्कर दिएको थियो । बुवा सन्तोषले चलाएको साइकलको पछाडि सवार बालिकाको ठक्करका कारण घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक लालबन्दी नगरपालिका–१७ (रानिगन्ज) बस्ने ५० वर्षीय दुर्गामान थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।