वीरगञ्ज । जबरजस्ती करणी (बलात्कार) मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–५ मोतीपुर स्थायी घर भई हाल पर्सामा बस्दै आएका २१ वर्षीय अरुण कुमार यादव रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शुक्रबार वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट नियन्त्रणमा लिएको हो।
पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार यादव जबरजस्ती करणी मुद्दामा लामो समयदेखि फरार रहँदै आएका थिए। विशेष सूचनाका आधारमा खोजी गर्ने क्रममा उनलाई परवानीपुर क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारबाहीका लागि सर्लाही जिल्ला अदालतमा बुझाइने डीएसपी कार्कीले जानकारी दिए।