
बरहथवा : सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ छ ।
सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उनले बताए। रफिकका दुई छोरा सोही काममा वैदेशिक रोजगारीमा छन्। उनको एक छोरा ट्र्याक्टरमा पुरानो लुगा पेलेर सिरक डसना बनाउने काम गर्दै विभिन्न स्थान पुग्ने गरेका छन्। मोहमद भने गाउँ तथा नजिकैको बजार क्षेत्रमा सिरक डस्ना बनाउने काम गर्छन्।
यस कामबाट आम्दानी राम्रो हुने गरेको हरिपुर–५ का कालीगढ हसन मन्सुरले बताए। ‘सिरक डसना बनाउने काम परम्परागत हुँदै हामीले सिकेका हौँ’, उनले भने। ‘व्यापारीले काम दिएको बेला बजारतिरै काम गर्छौं । बाँकी समय गाउँगाउँमै पनि पुग्ने गरेका छौँ ।’
धनुषा, पर्सा, काठमाडौँसम्म पुगेर सिरक डसना बनाउने काम गरेको रफिकले बताए। उनका अनुसार एक जना कालीगढले दिनमा सात वटासम्म सिरक वा डसना बनाउन सक्छन् । पसले वा स्थानीयबाट लम्बाइ र चौडाइ हेरेर एउटा सिरक वा डसना बनाएको कम्तीमा सात सय ज्याला लिने गरेको उनले बताए।
सिरक डसना बनाउन सम्पूर्ण सामान साहुले नै उपलब्ध गराइदिन्छन् । कपास फिट्ने लाठी र सियोको भरमा मनग्य आम्दानी गर्ने गरेको मन्सुरको भनाइ छ । जस्तोसुकै भए पनि सीप भएपछि कमाइ गर्न समस्या नहुने उनी बताउँछन्।
औपचारिक शिक्षा नलिएका तीनै जनाले आफ्ना बुबाबाजेबाट सिकेको सीप लिएर स्वरोजगार बनेको बताए।
यामको तीन/चार महिना कात्तिक, मङ्सिर, पुस र माघसम्म मासिक डेढ लाख रुपैयाँ बराबरको आम्दानी गर्ने गरेको रफिकले बताए। ‘दिनको झण्डै रु पाँच हजारसम्म आम्दानी हुन्छ’, उनले भने, ‘बिहानैदेखि आँखा देखुञ्जेल काम गर्नुपर्छ । सिरक डसना बनाएर कमाएको आम्दानीले परिवार पाल्न पुगेको छ।’
अहिले छोराहरू पनि कमाउन जाने गरेका र अर्का कालीगढ हाफिज मन्सुले बताए। ‘तर बुहारी नातिनातिनीहरू सबैको लालनपालन आफैँले गरिरहेको छु,’ उनले भने।
यसरी सिरक डसनाको मागसँगै बनाउने पेसासमेत सङ्कटमा पर्दै गएकोमा उनले दुखेसो गरे, ‘बजारमा विभिन्न म्याटेस पाहिन्छ । गाउँमा पनि त्यही राख्न थालेका छन् । गाउँगाउँमा ट्र्याक्टरमा उपकरण लिएर हिँड्नेले पुरानो लुगाबाट सिरक डस्ना बनाउन थालेपछि झन कपासको प्रयोग गरेर सिरक डसना बनाउने काम घट्दै गएको छ।’
प्रत्येक वर्ष चिसो बढ्दै जाँदा जाडोको जोहो न्यानो सिरक डसनाको खपत बढ्ने गर्दछ । यस वर्ष पनि समयमै चिसो सुरु भएकाले जिल्लामा सिरक डसना बनाउने जनशक्तिको चहलपहल बाक्लिनुका साथै बजार पसलका समेत सिरक डसनाको माग बढ्दै गएको बरहथवा बजारमा सिरक डस्ना व्यापार गर्नुहुने राम दरेश ठाकुरले बताए।