
बर्दिबास : महोत्तरीमा प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीका एक युवकलाई पक्राउ गरेको छ।
गएको असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ खोरियागाउँ बस्ने मन्दीप कुमार यादवलाई पक्राउ गरेको हो।
यादवले महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो गरेर फर्किने क्रममा प्रेमिकाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवैबीच विवाद भएको र दुई जनाबीच कुटाकुट हुँदा प्रेमिका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
टुटेश्वर मन्दिरबाट मृतक युवतीसँग आरोपितसँगै फर्किएको, टेम्पुमासँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगञ्जबाट समातिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।