
काठमाडौँ : एनपिएल फाइनलका दिन सर्लाही बलराका अमनकुमार सिंहमाथि भएको कुटपिटबारे प्रहरीले अनुसन्धान थालेको छ।
जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर सिंहमाथि सांघातिक हमला भएको थियो।
शनिवार त्रिभुवन विश्वविद्यालयको गेटनजिकै एउटा समूहले सर्लाहीको सिंहमाथि कुटपिट गर्दै घाइते बनाएको थयो। सिंह यु–१९ समूहमा क्रिकेट खेलाडीसमेत हुन्। उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।
दरबार हाईस्कुलको कक्षा १२ मा अध्ययनरत सिंह उक्त दिन क्रिकेट हेर्न रंगशाला पुगेका थिए। उनको वीर अस्पतालमा उपचार चलिरहेको छ।
जनकपुर बोल्ट्सले जितेपछि उनीविरुद्ध अन्य टिमका समर्थकले कुटपिट गरेको आरोप छ। घटनाबारे छानबिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।
भिडले कुटपिट लछारपछार गर्दा उनको दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी परेको हो। उजुरीपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ शाहले बताए।
सद्भाव बिथोल्न खोजेकोको घटना अस्वीकार्य भएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले पनि आरोपीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। उनले भनेका छन्, ‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लागेको छ। सरकारले यसमा तुरुन्तै कारबाही बढाओस्।’
यस्तै जनमत पार्टीले पनि मधेशी समुदायप्रति नश्लीय व्यवहार भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ।