महोत्तरीमा परीक्षा बिग्रिएको भन्दै विष पिएका तीनमध्ये एक छात्राको मृत्यु

लालबन्दी : बर्दिबास नगरपालिका-११ मा रहेको निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विष पिएका तीनमध्ये एक छात्राको मृत्यु भएको छ।

परीक्षाफल बिग्रिएको भन्दै तीन छात्राले एकैसाथ विष सेवन गरेका थिए। जसमध्ये सिरहाको धनगढीमाई नगरपालिका-१० घर भएकी १७ वर्षीय छात्रा रिंकु शर्माको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तु जैसवालका अनुसार विष सेवनबाट सिरहा धनगढी नगरपालिका-१० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो ।

शर्मालाई मंगलबार बिहान पौने १२ बजेको समयमा बर्दिबास नगरपालिका- ४ स्थित जंगल क्षेत्रबाट प्रहरीले अचेत अवस्थामा उद्धार गरी बर्दिबास अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको त्यहाँका चिकित्सकले घोषणा गरेका थिए।

रिंकुसँगै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको भने बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। दुवै छात्राको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

विष सेवन गरेका तीनै जना छात्रा जियोमेट्री (अमिन) विषयका प्रथम वर्षका छात्रा रहेको बुझिएको छ। उनीहरूले के कति कारणले विष सेवन गरे भन्ने प्रहरी अनुसन्धान भइरहेको जैसवालले सर्लाही न्युजसँग बताए।

यद्यपि शिक्षालयले केही दिनअघि लिएको सामान्य परीक्षामा नम्बर कम आएको भन्दै तीनै जनाले विष पिएको हुन सक्ने शिक्षालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए।

सम्बन्धित समाचार

सबै