काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकार असफल भएको आरोप लगाएका छन।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले ढिलासुस्ती गरेको भन्दै प्रश्न पनि गरेका छन्।
समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेले अहिलेसम्मका प्रगति विवरण पेश गरेका थिए।
त्यसप्रति टिप्पणी गर्दै मन्त्री साहले विमानस्थल निर्माणको प्रगति शून्य भएको बताए।
‘सरकार असफल र अक्षम भएको हो ? ढिलासुस्ती र आलटाल किन ? प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा शून्य प्रगितले सरकार असफल र अक्षम भएको सावित भयो’, अध्यक्ष साहले भने, ‘सरकारले एउटा विमानस्थल बनाउन सक्दैन। प्रगति शून्य छ भने सरकार सफल भएको र केही गर्ला, आर्थिक सुधार हुन्छ भन्ने कुरा सर्वसाधारणले कसरी मान्नुपर्ने ?’
यस्तै, उनले बाराको गढीमाई मेला र जनकपुरको विकासमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। साहले पर्यटन मन्त्रालयले तय गरेको एक सय पर्यटकीय गन्तव्यको विकास प्रक्रियाबारे पनि प्रश्न उठाएका थिए।