हरिवनमा हत्या गरी उखु बारीमा गाडिएको अवस्थामा इँट्टा व्यवसायीको शव फेला

हरिवन : सर्लाहीमा एक इँटा व्यवसायीको हत्या भएको छ।

हरिवन नगरपालिका-१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको हत्या भएको हो। प्रसाई यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९, मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निस्किएका परिवार स्रोतले बताए।

घर फर्किएर नआएपछि सोही दिनदेखि आफन्त र प्रहरीको सहयोगमा निरन्तर प्रसाईको खोजी गरिएको थियो। खोजी गर्ने क्रममा आज (शनिबार) बिहान करिब ११ बजेतिर घर नजिकै हरिवन नगरपालिका–१० स्थित उखुबारीमा हत्या गरेर गाडिएको अवस्थामा प्रसाईको शव फेला परेको हो।

प्रसाईंको हत्या गरी गाडिएको स्थान

प्रसाईको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता, प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकसहितको टोलीले घटनास्थलको निरीक्षण गरेर फर्किएको छ।

प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा प्रसाईकै गाउँका एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीले ती युवकको नाम गोप्य राखेको छ। उनले प्रसाईको हत्या आफैंले गरेको स्वीकारेका सर्लाहीका एक सुरक्षा अधिकारीले बताए।

प्रसाईको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेर हरिवन ल्याइसकेका छन्।

सम्बन्धित समाचार

सबै