सर्लाहीमा स्थानीय र प्रहरीबीच झडप हुँदा चल्यो गोली

गोडैता : सर्लाहीमा स्थानीयबासी र प्रहरीबीच झडप हुँदा पाँच राउण्ड गोली चलेको छ।

हिजो राति प्रहरीले रामनगर वडा नम्बर ५ मा प्रहरीले गरेको मापसे चेकिङका क्रममा युवाहरूले झगडा गरेपछि विवाद निम्तिँदा स्थानीय र प्रहरीबीच झडप भएको हो।

झडपका क्रममा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ। मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेर्न पुगेका थिए।

इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो।

प्रहरीका अनुसार वडाध्यक्ष श्रीनन्दन राय आफैं मादक पदार्थ सेवन गरेर आएका थिए।

झगडा गर्न पुगेका स्थानीयवासीले प्रहरीको गाडीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउन्ड गोली चलाएको जनाएको छ।
उक्त घटनामा केही स्थानीयसहित एक जना प्रहरी पनि घाइते भएका छन्।

घाइते प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको जनाइएको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष श्रीनन्दन यादवले भने प्रहरीले चेकिङको नाममा स्थानीयसँग रकम असुलेको र केहीलाई हिरासतमा राखेको गुनासो आएपछि आफू सो स्थानमा पुगेको बताएका छन्।

घटनाबारे थप जानकारी आउन बाँकी छ।

सम्बन्धित समाचार

सबै