
काठमाडौँ : सरकारले भूकम्पबाट जोगिन सबैसँग अनुरोध गरेको छ। आज बिहान गएको भूकम्पबाट देशभर भएको क्षतिबारे जानकारी गराउँदै सार्वजनिक अनुरोध गरेको हो।
गृहमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गएको भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त नभएको जानकारी गराउँदै विवरण संकलन भइरहेको पनि जनाएको छ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएका जानकारी दिए।
उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन भएको उनले बताए।
‘सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
विपद्मा मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्राधिकरणले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते
यसैबीच आज बिहान गएको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिएका हुन्।
यद्यपि विवरण संकलनका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी रहेको पनि उनले बताए। भूकम्पका कारण काठमाडौँमा एक, बारामा ११ र काभ्रेमा एक जना घाइते पनि उनले जानकारी दिए।
काठमाडौँमा भाग्दा घाइते भएका, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएका र काभ्रेका एक जना माथिबाट ढुंगा खसेर घाइते भएका अधिकारीले जानकारी दिए।
ओखलढुंगामा एक घर पूर्ण र दुई घरमा सामान्य तथा सङ्खुवासभामा एक घरमा सामान्य क्षति भएको पनि उनले बताए। उनका अनुसार सोलुखुम्बुमा एक पूर्ण र एक आंशिक तथा तीन घरमा सामान्य क्षति भएका तथा ताप्लेजुङमा तीन, सिन्धुपाल्चोकमा एक र रामेछापमा एक घरमा सामान्य क्षति भएको छ।