
काठमाडौँ – जनमत पार्टीका अध्यक्ष एवं सांसद सीके राउतले संसद् र सिंहदरबारकै गेटमा आफूहरूमाथि विभेद हुने गरेको गुनासो गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभामा उनले आफूहरूलाई चिनेर पनि हेपाहा शैलीमा ‘भारतीय हो’ भन्दै प्रश्न गर्ने गरेको बताए।
‘म त नेपालमा अझै रंगभेद देख्छु। भुटान, बर्मा वा अमेरिकाबाट आएको मान्छेलाई निर्वाध रूपमा छिर्न दिइन्छ तर हामीलाई अनुहार हेरेर ‘भाइ आप भारत से आए हो’ भनेर प्रश्न गरिन्छ। रंगभेदका आधारमा यस्तो विभेद कायम छ।’
अध्यक्ष राउतले सभामुखमा नै नश्लवादी सोच रहेको आरोप लगाए। ‘संसद्कै मुखिया पनि नश्लवादी भएपछि हामी कहाँ न्याय माग्न जाने ?’, उनले भने, ‘त्यसकारण यो अन्त्य हुनुपर्छ।’
संसद् नहुँदा सरकार कहाँ छ, मन्त्री कहाँ छ भनेर खोज्नुपरेको बेला अब संसदमा जनताको कुरा उठ्छ कि भनेर आशा जागेको पनि उनले बताए।