
लालबन्दी : महोत्तरीमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत टुटेश्वर जंगलमा बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ।
जनकपुरबाट सर्लाहीको बरथहवा आउँदै गरेको ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीका निमित्त प्रवक्ता नन्दकिशोर चौहानले बताए।
उनका अनुसार महोत्तरीको पूर्वपश्चिम राजमार्गको महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा बस अनियन्त्रित भई दुर्घटना भएको हो।
बस दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था मध्यम तथा अन्यको अवस्था सामान्य रहेको चौहानले बताए।
घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको छ। प्रहरीका अनुसार बसमा कुल ४० जना सवार थिए। बस चालकलाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।