बारा : विशेष अदालतले जीतपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई दोषी ठहर गरेको छ।
वैशाख २७ गते बिहीबार विशेष अदालतले कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। २०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो।
विशेष अदालतले दोषी ठहर गर्दा वडाअध्यक्ष कार्की निर्णय बदरको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवादी बनाई पुनरावेदनका लागि फागुन ३ गते विशेष अदालतमा मुद्दा दर्ता गराएका थिए। इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर र सदस्य न्यायाधीश तेजनारायण सिंह राईको फैसलाले पहिलाको निर्णयलाई नै सदर गरेको थियो।
पुस २ गते हेटौँडास्थित अख्तियारको टोलीले कार्कीलाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुरस्थित जयसवाल होटलबाट घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको थियो।
वडाध्यक्ष कार्कीले प्लिटङ जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले ५ लाख नगद रकमसहित पक्राउ गरेको थियो। कार्की नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन्।