जनकपुरमा दर्ताबिना सञ्चालित अस्पताललाई धमाधम कारबाही गर्दै सरकार

जनकपुरधाम : जनकपुरका निजी अस्पतालको बेथितिविरुद्ध उत्रिएको मधेश प्रदेश सरकारले थप पाँच वटामा अनुगमन गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंहसहितको टोलीले बिहीबार साँझ अनुगमनका क्रममा थप दुई अस्पताल बिनादर्ता सञ्चालन गरिरहेको भेट्टाएको हो।

अन्यको मापदण्डमा त्रुटि रहेको फेला परेको छ । जनकपुरको पीडारीचोकस्थित जनकपुर मधेश होस्पिटल र रामानन्दचोकमा रहेको जनकपुर गोल्डेन अस्पताल दर्ताबनै सञ्चालनमा रहेको पाइएको छ ।

दुवै अस्पताललाई शुक्रबार बिहानसम्म बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर ११ बजेसम्म बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका थिए । जनकपुरको सुरक्षा अस्पतालमा अनुगमन गर्दा नवीकरण फेल भएको, सरसफाइमा त्रुटि रहेको पाइएको छ ।

सरसफाइमा ध्यान दिन र कागजातसहित भोलि मन्त्रालयमा उपस्थित हुन निर्देशन मुख्यमन्त्रीले निर्देशन दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित सचिव राजेश मिश्रका अनुसार जिरोमाइलमा रहेको ज्योति आँखा अस्पतालका सञ्चालकबाहिर रहेकाले भोलि कागजात लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ ।

यस्तै, हिरा हस्पिटल मात्र दर्ता कागजात दुरुस्त रहेको पाइएको छ । यद्यपि ५० बेडको उक्त हस्पिटलमा आकस्मिक कक्षमा ५ वटा मात्र बेड हुनुपर्नेमा ८ वटा रहेको पाइएको छ । आकस्मिक कक्षमा तीन वटा बेड घटाउन निर्देशन दिइएको निमित्तसचिव मिश्रले बताए ।

यसअघि शनिबार मुख्यमन्त्री सिंहले २० वटा निजी हस्पिटलमा छड्के अनुगमन गरेका थिए । त्यसक्रममा दर्ता नरहेकालाई भोलिपल्टै बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरेर बन्द गर्ने निर्देशन दिएको थियो । तीन वटा अस्पतालले बन्द गरे पनि अन्य केही दर्ताबिनाका अस्पतालले अटेर गरेका थिए।

अटेर गरेर चलाएको पाइएपछि जनकपुर मोर्डन अस्पताललाई आजैबाट बन्द गरिएको छ भने त्यसका सञ्चालक रामभरोश महतोलाई मन्त्रालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ ।

अनलाइनखबरबाट

सम्बन्धित समाचार

सबै