
मलंगवा : नेकपा माओवादी केन्द्रले तराई मधेस जागरण अभियानको तयारीलाई तीव्रता दिएको छ।
हुलाकी सडक हुँदै हुने सो अभियान फागुन १२ गते झापामा उद्घाटन हुनेछ। समापन चैत ७ गते कन्चनपुरमा हुने माओवादी केन्द्रले जनाएको छ। सो अभियानको क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुलाकी सडकमा आठ दिनसम्म रहने जनाइएको छ।
मधेसका आठ जिल्लामा एक-एक दिन प्रचण्डले बिताउने कार्यक्रम रहेको माओवादी केन्द्रका उपमहासचिव एवं मधेस प्रदेशका इन्चार्ज मातृका यादवले बताए।
कार्यक्रम सफल बनाउन मधेस प्रदेशका नेता तथा कार्यकर्ताहरू तीव्र तयारीमा जुटेका छन्। जिल्ला जिल्लामा बैठक बस्नुको साथै स्थानीयस्तरमा पनि त्यसको तयारी भइरहेको इन्चार्ज यादवको भनाइ छ।
मधेस प्रदेशका जिल्ला तथा गाउँ-गाउँमा प्रचण्डलाई कसरी स्वागत गर्ने, कार्यक्रमलाई कसरी सफल बनाउने, बढीभन्दा बढी कार्यकर्ता कसरी भेला गर्ने विषयमा छलफल चलिरहेको छ। अध्यक्ष प्रचण्ड फागुन १५ गते सप्तरी पुग्ने कार्यक्रम छ। राति सप्तरीमा उनको बास हुनेछ भने फागुन १६ गतेदेखि मधेस प्रदेशको अभियान औपचारिक रूपमा सञ्चालन हुने बताइएको छ।
सिरहामा १७ गते, धनुषामा १८ र महोत्तरीमा १९ गते कार्यक्रम हुने तय भएको छ। फागुन २० गते अध्यक्ष प्रचण्ड थारू मोर्चाको सम्मेलन उद्घाटन गर्न कैलालीको टीकापुर जानुपर्ने भएकाले फागुन २० गते एक दिन कार्यक्रम नहुने बताइएको छ।
फागुन २१ सर्लाही, २२ रौतहट, २३ गते बारा र २४ गते पर्सामा कार्यक्रम समापन हुने पार्टीले जनाएको छ।