
जनकपुरधाम : निजी अस्पतालविरुद्ध आक्रमक रूपमा उत्रिउका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासमा रहेका ५ वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।
शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले बर्दिबासका ८ वटा अस्पतालको अनुगमन गरेका थिए।
अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
ती अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएपछि मात्र पुनः सञ्चालन गर्न निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।
अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालिले आवश्यक स्वीकृति लिएको पाइएको छ भने जनसेवा हस्पिटल प्रालि र डीएनबी मेडिकेयर सेन्टर प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ ।