
मलंगवा : सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको रकमसहित दाजुभाइ पक्राउ परेका छन्।
गोडैता नगरपालिका–५, रामवनका ३८ वर्षीय मनोजकुमार गुप्ता र उनका भाइ ३५ वर्षीय भगवान गुप्तालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गुप्ता दाजुभाइको साथबाट सात लाख २८ हजार ९०० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार बीआर ३० एन २२३० नम्वरको मोटरसाइकलमा भारत तर्फबाट आउँदै गरेका गुप्ता दाजुभाइलाई मलंगवा नगरपालिका-८, स्थित गोरखकाली प्रहरी चौकी अगाडिबाट पक्राउ गरिएको हो।
सिंहका अनुसार गुप्ता दाजुभाइको साथबाट विभिन्न बैङ्कका १७ वटा एटिएम कार्डसमेत फेला परेको छ। बरामद भएको रकम हुण्डी कारोवारमा प्रयोग भएको हुनसक्ने प्रहरीको आशङ्का छ।